Pid Image
Latest Events

सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीज्यूद्वारा मेलम्ची खानेपानी वितरणको समुद्घाटन कार्यक्रम

सम्माननीय राष्ट्रपतिज्यूद्वारा मेलम्ची खानेपानी वितरणको समुद्घाटन सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीज्यूले कलात्मक झाँकीयुक्त उल्लासमय कार्यक्रमका बिच मेलम्ची आयोजनाको प्रथम चरण अन्तर्गत प्राप्त खानेपानी वितरण कार्यको समुद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति भण्डारीले नेपाली कलात्मक धारो खोली मेलम्ची खानेपानी आपूर्तिको शुभारंभ गर्नुभएको थियो । भृकुटी मण्डपमा आयोजित उक्त समारोहमा सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली, संविधान सभाका अध्यक्ष, नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्य सचिव, खानेपानी मन्त्रालयका सचिव, एशियाली विकास बैंक, जाइका लगायतका दातृ निकायका प्रतिनिधिहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, काठमाण्डौ, ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका मेयरहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, मेलम्ची आयोजनासँग सम्बद्ध पदाधिकारीहरू तथा अवकाशप्राप्त अधिकारीहरू, माननीय सांसदहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई संबोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको प्रथम चरण सम्पन्नप्रायः अवस्थामा पुगी खानेपानी आपूर्ति पनि शुरू भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले आयोजनाको परिकल्पना तथा आयोजनासफल पार्न आआफ्नो स्थानबाट भूमिका खेल्नुभएका पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइ लगायतका राजनीतिज्ञहरू, कर्मचारीहरू लगायतका व्यक्तित्वहरूको योगदानको स्मरण गर्नुभयो । उहाँले आयोजना सफल पार्नमा मेलम्ची क्षेत्रका बासिन्दाहरूको योगदानको उच्च मूल्यांकन गर्नुभयो । सम्माननीय प्रधानमन्त्री तथा कार्यक्रमका विशेष अतिथि के पी शर्मा ओलीले सरकारले कोरोनाभाइरस महामारीका बिच पनि मेलम्ची आयोजना (प्रथम चरण) लगायतका विभिन्न विकास आयोजनाहरूको निर्माण सम्पन्न गर्न सक्षम भएको उल्लेख गर्नुभयो । मेलम्ची आयोजनाको प्रथम चरणको निर्माणले उपत्यकाबासी लगायत सबै नेपालीमा खुशी छाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आयोजनाको दोस्रो चरणको कार्यान्वयन अर्थात यांग्री र लार्के खोलाको पानी उपत्यकामा पथान्तरण तथा वितरण गर्नका लागि आवश्यक संरचनाहरूको निर्माण सम्पन्न भइसकेकोले अब यांग्री र लार्केको पानी मेलम्ची सुरूङ सम्म ल्याउने कार्य मात्र बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न आयोजना कार्यान्वयनकर्ता निकायहरूलाई निर्देशन दिनुभयो । उक्त अवसरमा अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका माननीय खानेपानी मन्त्री मणिचन्द्र थापाको भिडियो सन्देश प्रसारण गरिएको थियो । खानेपानी मन्त्री थापाले मेलम्ची आयोजनाको दोस्रो चरणको निर्माणप्रति मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले मेलम्चीको खानेपानी वितरणसँगै अब मेलम्चीको खानेपानी नपुगिसकेका स्थानहरूमा पनि खानेपानी सेवामा सुधार गर्दै लगिने योजना रहेको बताउनुभयो । कार्यक्रमलाई संबोधन गर्नुहुँदै काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफूले प्रतिज्ञा गरे अनुरूप आफ्नो कार्यकालमै मेलम्चीको खानेपानी आपूर्ति शुरू भइसकेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । साथै मेलम्ची आयोजनाको दोस्रो चरणको निर्माण कार्य पनि समयमै सम्पन्न भइ आम नागरिकले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले काठमाण्डौका जनताले खानेपानीको अभावका कारण तनाव ब्यहोर्नुपर्ने, निद्रा बिगारी पानी भर्नुपर्ने तथा प्रदूषित पानीका कारण लाग्ने विविध रोगव्याधिले आक्रान्त हुनुपर्ने समयको अन्त्य हुुने क्रम शुरू भएको उल्लेख गर्नुभयो । यस सफलताले नेपालको खानेपानीको इतिहासमा स्वर्णिम युगको शुभारंभ भएको उहाँले बताउनुभयो । साथै उहाँले आयोजनाको निर्माण कार्य सम्पन्न गर्न प्रेरित गर्नुहुने सम्माननीय प्रधानमन्त्री, माननीय खानेपानी मन्त्री र अन्य सबै शुभचिन्तकहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले केही महिनाभित्रै चक्रपथभित्र नयाँ वितरण प्रणालीमार्फत् मेलम्चीको खानेपानी आपूर्ति गरिने बताउनुभयो । मेलम्ची आयोजनाको दोस्रो चरण अन्तर्गत यांग्री र लार्के खोलाको दैनिक १७/१७ करोड लिटर खानेपानी उपत्यकामा आपूर्ति गर्ने कार्य अघि बढिसकेको बताउनुहुँदै उहाँले राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा अहोरात्र खटिने सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको समापन गर्नुहुँदै खानेपानी मन्त्रालयका तथा सभाका अध्यक्ष सचिव माधव बेलबासेले कार्यक्रममा उपस्थित भइ गर्नुभएको थियो । आयोजनाको सफल कार्यान्वयनका लागि प्रेरणा दिइरहनुहुने सम्माननीय प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्नुभयो । तिर्र्र्खाएको काठमाण्डौलाई खुशियाली दिने सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका स्थानीयबासीप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो । साथै लाखौँ उपत्यकाबासीको मुहारमा खुशी ल्याउने यस आयोजनाको सफल कार्यान्वयनमा भूमिका खेल्नुहुने सम्बन्धित सबैलाई धन्यवाद दिँदै सचिव बेलबासेले मेलम्ची आयोजनाका कर्मचारीहरू, एप्टिसा परामर्शदातृ कम्पनी, निर्माण व्यवसायी कम्पनी सिनो हाइड्रोप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो । उहाँले सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रपतिज्यूबाट प्राप्त निर्देशनहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै व्यस्त समयका बावजूद कार्यक्रममा उपस्थित भइदिनुभएकोमा उहाँहरू र अन्य विशिष्ट अतिथिहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

 

Navigation

Social Media