Pid Image
Latest Events

सम्माननीय प्रधानमन्त्रीद्वारा बालकुमारी फोहर पानी प्रशोधन केन्द्रको शिलान्यास

सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूले बालकुमारीमा निर्माण हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभयो ।

पौष १९, २०७५ का दिन आयोजित उक्तकार्यक्रममा माननीय सांसदज्यूहरु, नेपाल सरकारका सचिवहरु, पूर्वसचिवहरु, मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित निकायहरुका पदाधिकारीहरु र निर्वाचित स्थानीय निकायका प्रतिनिधिहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्माननीय प्रधानमन्त्रीले केही अन्योल देखिए पनि खानेपानी मन्त्रालय मेलम्ची खानेपानी आयोजनाको निर्माणमा तिब्रताका साथ अघि बढिरहेको बताउँदै रातदिन एक गरेर आयोजनाका लागि काम गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना अन्तर्गत यांग्री र लार्के खोलाको पानी उपत्यकामा ल्याउनका लागि अझ द्रुत गतिमा काम गर्न आयोजना निर्माणमा संलग्न निकायहरू र निर्माण कम्पनीहरूलाई निर्देशन दिनुभयो । उहाँले वाग्मती नदीको अवस्थामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । हामी सक्छौँ भन्ने भावना लिइ काम गर्न सबैलाई आग्रह गर्दै फोहर पानी प्रशोधन केन्द्रहरूको निर्माण र संचालनमा सम्बद्ध विदेशी कम्पनीहरूबाट आवश्यक सिप सिकी नेपालीहरू नै जतिसक्दो छिटो ती केन्द्रहरू संचालन गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि माननीय खानेपानी मन्त्री बिना मगरज्यूले वाग्मती नदीलाई सफा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पानीका मुहानहरूलाई सफा राखेर मात्रै मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सकिन्छ भन्दै उहाँले भन्नुभयोः हामीले वाग्मती नदीलाई प्राकृतिक स्वरूपमा फर्काउने अभियानको थालनी गरेका छौँ । यहाँहरू सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी वाग्मतीको पानी प्रशोधन गर्ने ऐतिहासिक दिनसम्म आइपुगेका छौँ ।

वाग्मतीमा सफा पानी बग्न र वातावरणलाई स्वच्छ बनाउने अभियान अघि बढिेको बताउँदै माननीय मन्त्रीले पहिलो चरणमा गरिएको प्रशोधनले कोडकु क्षेत्रका ३ लाख ८० हजार, सल्लाघारी क्षेत्रका ४ लाख ५४ हजार, धोबीघाट क्षेत्रका २२ लाख ८ हजार गरी कुल ३० लाख ४४ हजार जनसंख्या लाभान्वित हुने बताउनुभयो ।

खानेपानी मन्त्रालय देशैभरि खानेपानीको पहुँचमा वृद्धि गर्नका लागि विभिन्न योजनाहरू बनाइ अघि बढिरहेको उहाँको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले नदीहरूले धार परिवर्तन गर्दा फोहर पानी व्यवस्थापन प्रणाली निर्माणको क्रममा नदी किनारमा ढलका पाइपहरू बिछ्याउन कठिनाइ हुने गरेको बताउँदै यस सम्बन्धमा स्पष्ट कानूनको खाँचो औँल्याउनुभयो ।

निर्देशनालयको फोहर पानी व्यवस्थापन आयोजना अन्तर्गत निर्माण हुने अत्याधुनिक फोहर पानी प्रशोधन केन्द्रहरूका विशेषताहरू उल्लेख गर्दै उहाँले ती प्रशोधन केन्द्रहरूमा जडित प्रविधिका कारण दुर्गन्ध नफैलिने बताउनुभयो । साथै ती प्रशोधन केन्द्रहरूको बाहिरी भागमा हरियाली कायम गरिने र त्यहाँ साइक्लिङ, योग, प्रातःकालीन भ्रमण गर्न सकिने जानकारी दिनुभयो । 
उहाँले ललितपुरका स्थानीय निकायबाट फोहर पानी व्यवस्थापन संरचनाहरूको निर्माणमा सहयोग प्राप्त भैरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिले आफूहरूलाई ऊर्जा दिएको बताउँदै आयोजना निर्देशक खत्रीले फोहर पानी व्यवस्थापन पूर्वाधारको निर्माणले संवृद्ध नेपाली, सुखी नेपालको सपना साकार पार्न बल मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भन्नुभयोः राम्रो कामको थालनी भयो, शुभकामना । 
उहाँले प्रशोधन केन्द्रको निर्माण समयमै सम्पन्न हुने अपेक्षा गर्नुभयो । आफ्नो बाल्यकालमा कोडकु, वाग्मती लगायतका खोलाहरूमा कंचन पानी बग्ने गरेको र त्यहाँ आफूहरूले पौडी खेल्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयोः बुढेसकालमै भएपनि वाग्मतीमा पौडी खेल्न पाऊँ ।

निर्देशनालयलाई प्रशोधन केन्द्रको बाहिरी भागमा हरियाली कायम गरी, पार्क बनाइ केन्द्रको निर्माण गर्न शुरू गरेमा काम गर्न सजिलो हुने उहाँको सुझाव थियो । धोबीघाटमा निर्माण हुन लागेको फोहर पानी प्रशोधन केन्द्रको उल्लेख गर्दैै उहाँले भन्नुभयोेः निर्देशनालयले राम्रो प्रयासको थालनी गर्यो, जनप्रतिनिधिको हैसियतले हामीहरूले पनि साथ दियौँ ।

निर्देशनालयका आयोजना प्रबन्धक सुरत कुमार बमले उपत्यकामा पानीको खपत भएपछि निष्कासन हुने फोहर पानी नगरपालिकाहरूको ढल प्रणालीमार्फत् सोझै नदी, खोलाहरूमा मिसिने गरेको बताउँदै गोकर्ण र हनुमानघाटमा ढल प्रशोधन गरी प्रशोधित पानी प्रवाहित गर्नका लागि विकेन्द्रित फोहर पानी प्रशोधन प्रणाली निर्माणको प्रस्ताव गरिएको जानकारी दिनुभयो । साथै फोहर पानी प्रशोधन गर्नका लागि गुह्येश्वरी, धोबीघाट, सल्लाघारी र बालकुमारीमा फोहर पानी प्रशोधन केन्द्रहरू निर्माणाधीन रहेको बताउनुभयो ।

उहाँले गुह्येश्वरी प्रशोधन केन्द्रको निर्माण ८० प्रतिशत पुरा भैसकेको जानकारी दिनुभयो । यी केन्द्रहरूमा ढल प्रशोधनका क्रममा बिजुलीका साथै ठोस फोहर उत्पन्न हुने र त्यसलाई मलको रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो । केन्द्रहरूबाट निस्कने प्रशोधित पानीको बहुआयामिक उपयोगमाथि प्रकाश पार्दै उहाँले त्यसलाई सिंचाइ र industrial cooling जस्ता प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भन्नुभयो । केन्द्रमा जडान हुने दुर्गन्ध न्युनीकरण इकाइका कारण दुर्गन्ध फैलिँदैन, उहाँले भन्नुभयोः सफा पानी नदीमा मिसिएपछि जैविक विविधता कायम गर्न मदत मिल्छ, पर्यटन प्रर्वद्धन गर्न सकिन्छ ।

कार्यक्रमको समापनका क्रममा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरले मन्त्रालयले समयमै प्रशोधन केन्द्रको निर्माण सम्पन्न हुने अपेक्षा गरेको बताउनुभयो । उहाँले वायु, जल, माटो शुद्ध होस् भन्ने उद्देश्यका साथ मन्त्रालय अघि बढन चाहेको बताउनुभयो ।

Navigation

Social Media