Pid Image
Latest Events

फोहर पानी प्रशोधन केन्द्रको निर्माण आरंभ गर्ने निर्णय

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (KUKL), आयोजना कार्यान्वयन निर्देशनालय र ललितपुर महानगरपालिका कार्यालयको संयुक्त आयोजनामा २०७५, फागुन ८ गते धोबीघाटमा निर्माण हुने आधुनिक, वातावरण–मैत्री फोहर पानी प्रशोधन केन्द्र सम्बन्धमा बैठक सम्पन्न भयो ।

महानगरपालिकाको सभा हलमा आयोजना गरिएको उक्त बैठकमा प्रतिनिधि–सभाका सांसद मा. पम्फा भुसाल, प्रदेश सभाका सांसद मा. जीवन खडका, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उप–मेयर गीता सत्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशी, सुरक्षा निकायका प्रतिनिधि, KUKL का महा–प्रबन्धक महेश भट्टराइ, निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्री, ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष नारायण केसी र स्थानीय सरोकार समितिका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

उक्त बैठकले निम्न निर्णयहरू गरेको छ ।

१. आयोजना कार्यान्वयन निर्देशनालयले आजको मिति अर्थात् २०७५, फागुन ८ देखि ४ दिनभित्र फोहर पानी प्रशोधन केन्द्र निर्माणसम्बन्धी कार्यको तालिका बनाइ सम्बन्धित स्थानीय तह, ललितपुर महानगरपालिका कार्यालय तथा स्थानीय सरोकार समितिलाई उपलब्ध गराउनेछ । कार्यतालिकामा निर्माणस्थल वरिपरि पर्खाल र पार्क निर्माण लगायतका कार्यलाई पहिलो चरणमा राखिनेछ ।

२. निर्देशनालयले निर्माण कार्य शुरू गर्नु अगावै सम्बन्धित स्थानीय तहको रोहबरमा सरोकार समितिसँग प्रशोधन केन्द्रले स्थानीय समुदायलाई असर नगर्ने लिखित प्रतिबद्धता गर्नेछ र पर्खाल, पार्क लगायतको निर्माण कार्य मार्च १, २०१९ (फागुन १७, २०७५) देखि शुरू गर्नेछ ।

३. सरोकार समितिका सदस्यहरुले आधुनिक फोहर पानी प्रशोधन केन्द्रका वातावरण-मैत्री पक्षहरुबारे जानकारी लिइ आश्वस्त हुन चाहेको र हाल देशभित्र त्यस्तो केन्द्र संचालनमा आइनसकेको परिप्रेक्ष्यमा निर्देशनालयले विदेश भ्रमणको लागि सम्बन्धित मन्त्रालयसँग आवश्यक पहल गर्नेछ । साथै गुह्येश्वरीस्थित प्रशोधन केन्द्र संचालनमा आइसकेपछि निर्देशनालयले सरोकार समितिका सदस्यहरुलाई अवलोकन भ्रमण गराउनका लागि पहल गर्नेछ ।

४. निर्देशनालयले हाल संचालनमा रहेको अफलडोल क्षेत्रको बाटो कालोपत्रे गर्ने मागका सम्बन्धमा पहल गर्नेछ ।

Navigation

Social Media