Pid Image
Latest Events

नवनियुक्त आयोजना निर्देशकको सम्मानमा स्वागत कार्यक्रम

मिति २०७६/०२/०६ काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले निर्देशनालयका नवनियुक्त कायम मुकायम आयोजना निर्देशक भोज विक्रम थापाको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गर्यो । माननीय खानेपानी मन्त्री स्तरको २०७५/०६/०५ को निर्णय बमोजिम थापाले २०७५/०६/०६ देखि आयोजना कार्यान्वयन निर्देशनालयको का.मु. आयोजना निर्देशकको पदभार ग्रहण गर्नुभएको हो । करिब ३ दशक लामो निजामती सेवाका क्रममा निर्देशक थापाले साना शहरी खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची खानेपानी आयोजना र खानेपानी तथा ढल निकास विभाग अन्तर्गत विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाहरू निर्माण तथा संचालनको लागि उप–आयोजना निर्देशक, उप–कार्यकारी निर्देशक तथा जिल्ला इंजिनियरजस्ता ओहदाहरूमा रही सेवा गरीसक्नुभएको छ । स्वागत कार्यक्रममा बोल्नुहुँदै निर्देशनालयका आयोजना उप–निर्देशक मिलन कुमार शाक्यले उपत्यकाभित्र मेलम्ची आयोजनाका संरचनाहरूको निर्माण कार्यमा निर्देशनालयले हासिल गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नवनियुक्त निर्देशक थापाले मेलम्ची बोर्डको उप कार्यकारी निर्देशकको रूपमा कार्य गर्नुभएको स्मरण गर्नुहुँदै शाक्यले उहाँको कार्यकालमा मेलम्चीको पूर्ण प्रशोधित खानेपानी उपत्यकामा ल्याउन अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । निर्देशनालयका आयोजना प्रबन्धक सुरत कुमार बमले खानेपानी आपूर्ति तथा फोहर पानी व्यवस्थापन संरचनाहरु मेलम्ची आयोजनाका अभिन्न अंगहरु भएको बताउँदै तिनको निर्माण कार्यलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आयोजना व्यवस्थापन परामर्शदाता ध्रुव राज रेग्मीले घना बस्तीयुक्त काठमाण्डौमा मेलम्ची आयोजनाका संरचनाहरूको निर्माण गर्ने कार्य चुनौतीपूर्ण भए पनि निर्देशनालय अन्तर्गत विभिन्न विषयका विज्ञहरू कार्यरत रहेको हुँदा उहाँहरूको विज्ञताको प्रयोग गरी उक्त कार्य सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निर्देशक थापाले मेलम्ची आयोजनाको प्रथम चरणको निर्माण सम्पन्न भइसकेपछि उपत्यकामा प्रतिदिन थप १७ करोड लिटर र दोस्रो चरणको निर्माण भइसकेपछि प्रतिदिन थप ३४ करोड लिटर पूर्ण प्रशोधित खानेपानी उपत्यकामा आपूर्ति हुने तथ्य स्मरण गराउनुभयो । समग्र आयोजनाको निर्माण सम्पन्न भइसकेपछि प्रतिदिन ५१ करोड लिटर खानेपानी आपूर्ति हुने हुँदा यसै तथ्यलाई ध्यानमा राखी खानेपानी आपूर्ति तथा फोहर पानी व्यवस्थापन संरचनाहरूको निर्माण गर्नु आवश्यक रहेको स्मरण गराउनुहुँदै निर्देशक थापाले समग्र समूहको सहयोगले छिट्टै काठमाण्डौ उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । निर्देशक थापाले सबैको साथ सहयोग लिइ उपत्यकाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्न एक भएर लाग्नुपर्ने बताउनुभयो । साथै मेलम्चीको पानी काठमाण्डौ उपत्यका प्रवेश गर्नासाथ उक्त पानी जनताको घरघरमा पुर्याउने गरी यस निर्देशनायले यथाशिघ्र तयारी पूर्ण गर्नुपर्ने बताउनुभयो ।

Navigation

Social Media