पिआईडीद्वारा ८ वटा DMA केयुकेएललाई हस्तान्तरण गरिँदै
काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) लाई ८ वटा डिस्ट्रिक्ट मिटरिङ एरिया (DMA) सञ्चालन तथा मर्मत–सम्भारका लागि आधिकारिक रूपमा हस्तान्तरण प्रक्रिया अगाडि बढाएको छ।
एसियाली विकास बैंक (ADB) को पहिलो चरणको ऋण सहयोगमा निर्माण सम्पन्न भएका ३२ वटा DMA मध्ये ८ वटा DMA हस्तान्तरण गर्न आयोजना निर्देशक ई. रामकुमार श्रेष्ठले केयुकेएलका प्रमुख कार्यकारी अधिकृतलाई पत्राचार गर्नुभएको हो । पिआईडीले यस अघि नै २४ वटा DMA केयुकेएललाई सञ्चालनका लागि हस्तान्तरण गरिसकिएको छ ।
हस्तान्तरण गर्ने चरणमा रहेको ८ वटा DMA मा पर्याप्त संख्यामा मिटर जडान गर्ने, केही स्थानमा पाइपलाइनको अवरोध हटाउने तथा तेस्रो पक्षबाट क्षति पुगेका पाइपलाइनको पुनःस्थापना गर्न समय लागेकाले हस्तान्तरण प्रक्रिया केही ढिलाइ भएको जनाएको छ । हाल ती सबै प्राविधिक समस्या समाधान गरी आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेकाले केयूकेएललाई हस्तान्तरण गर्न लागिएको निर्देशनालयले जनाएको छ।
आयोजना निर्देशक श्रेष्ठका अनुसार ती DMA हरूबाट करिब एक वर्षदेखि नियमित रूपमा खानेपानी वितरण भइरहेको छ। सबै निर्माण ठेक्काको अवधि समेत समाप्त भइसकेकाले प्रचलित प्रक्रिया अनुसार अब ती प्रणालीहरू केयुकेएललाई सञ्चालनका लागि हस्तान्तरण गर्न लागिएको हो।
आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले खानेपानी वितरण प्रणाली अन्तर्गत नेटवर्क पाइपलाइन निर्माण तथा विस्तारको कार्य सम्पन्न गर्छ। निर्माण सम्पन्न भएपछि पाइपलाइनको परीक्षण (Testing) र सञ्चालनमा ल्याउने (Commissioning) प्रक्रिया पूरा गरिन्छ। त्यसपश्चात् प्रणालीबाट निर्धारित मापदण्डअनुसार नियमित र प्रभावकारी रूपमा खानेपानी वितरण भइरहेको सुनिश्चित गर्न फङ्सनल ग्यारेन्टी टेस्ट (Functional Guarantee Test–FGT) काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) सँगको संयुक्त अनुगमनमा सम्पन्न गरिन्छ। FGT सफलतापूर्वक सम्पन्न भई प्रणाली सञ्चालनयोग्य भएको पुष्टि भएपछि सम्बन्धित डिस्ट्रिक्ट मिटरिङ एरिया (District Metering Area–DMA) सञ्चालन तथा मर्मत–सम्भारका लागि औपचारिक रूपमा KUKL लाई हस्तान्तरण गर्नुपर्ने प्रावधान छ।
हस्तान्तरणका गर्न लागिएका DMA हरूमा काठमाडौं महानगरका चारखाल, धोबीधारा, कमलादी, बागबजार, घण्टाघर, क्षेत्रपाटी, नरदेवी, ढल्कु, ठमेल, ज्याठा, महाबौद्ध, नयाँ सडक, इन्द्रचोक, न्युरोड, लगन, बसन्तपुर, टेकु, ह्युमत, सुन्धारा र त्रिपुरेश्वर क्षेत्रका साथै ललितपुरका एकान्तकुना, भनीमण्डल, झम्सीखेल, जावलाखेल, बखुण्डोल, कुपण्डोल, ग्वार्को, महालक्ष्मीस्थान, मानभवन, पुलचोक, नख्खु, लगनखेल र मंगलबजार लगायतका सेवा क्षेत्र समेटिएका छन्।
निर्देशनालयले अधिकांश DMA मा संयुक्त प्राविधिक प्रमाणीकरण सम्पन्न भइसकेको, अन्तिम चरणमा रहेको वा तत्काल सुरु गर्नुपर्ने अवस्थाबारे समेत केयुकेएललाई जानकारी गराएको छ।
पत्रमा सबै DMA तोकिएको प्राविधिक मापदण्डअनुसार निर्माण तथा परीक्षण सम्पन्न भई पूर्ण रूपमा सञ्चालन योग्य अवस्थामा रहेको उल्लेख गरिएको छ। साथै Taking Over Certificate, As-Built Drawings, GIS Maps, Operation and Maintenance (O&M) Manual लगायत हस्तान्तरणका लागि आवश्यक सम्पूर्ण प्राविधिक कागजात संकलन गरी हस्तान्तरणको क्रममा उपलब्ध गराइने प्रतिबद्धता पनि जनाइएको छ।
यसबाट काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीको व्यवस्थापन थप व्यवस्थित, प्रभावकारी र दिगो हुने अपेक्षा गरिएको छ।
2019-01-09
Last updated 3 mins ago